नियम १२
बैङ्कले भुक्तानी दिने

(१) खातावालालाई माग बमोजिमको रकमको भुक्तानी दिंदा बैङ्कको सम्बन्धित कर्मचारीले खातावालाको दस्तखत लिई निजको बैङ्कमा रहेको दस्तखतको नमूनासित भिडाउनेछ । दस्तखत मिलेमा र संचित रकमबाट माग बमोजिमको रकम भुक्तानी दिन पुग्ने देखिएमा झिक्न चाहेको रकमलाई निजको खाता र पासबूकमा चढाई बाँकी रकम समेत दर्शाई भुक्तानी दिईनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि खातावालाको दस्तखत निजको बैङ्कमा अघिदेखि रहेको दस्तखतको नमूनासित नमिलेमा पनि देहाय बमोजिम जमानी लिई निजलाई भुक्तानी दिन सकिनेछः
(क) भुक्तानी दिने काउण्टर तथा सम्बन्धित खाताको काम गर्ने कर्मचारी बसेका हुलाक अड्डाका अन्य स्थायी कर्मचारीको जमानी लिई, वा
(ख) झिक्न चाहेको रकम भन्दा सो बैङ्कमा बढी संचित रहेको खातावालाको जमानी लिई, वा
(ग) हुलाक हाकिमले पत्याएको व्यक्तिको जमानी लिई ।
(३) लेखपढ गर्न नजान्ने खातावालाको ल्याप्चे छापको सम्बन्धमा शङ्का लागेमा उपनियम (२) बमोजिम जमानी लिई रकमको भुक्तानी दिन सकिनेछ ।